समाचार

पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट

३ कार्तिक २०८१, शनिबार १२:१३
पर्यटकका लागि दरबारमै रेस्टुरेन्ट

३ कात्तिक,बागलुङ। दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेस्टुरेन्ट सञ्चालन गरेको छ। टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताए।

प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेस्टुरेन्ट सञ्चालन गरेको हो । रेस्टुरेन्टमा एकैसाथ २० जना पाहुना राख्न सकिने उनले बताए। घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेस्टुरेन्ट सञ्चालन गरेको उहाँले बताए। दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ। विसं २०१७ सम्म दरबार अस्तित्वमा थियो ।

भरतबम मल्ल तत्कालीन राजा हुन्। यहीँबाट गलकोटको राजकाज चल्थ्यो। त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो। पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो। त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल हुन्। उनी २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत भएका थिए।

दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ। विसं २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधव बममा आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो।
विसं २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो।

प्रतिक्रिया दिनुहोस्