समाचार

कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

१ कार्तिक २०८१, बिहीबार २२:१५
कोरला नाकामा सञ्चार सुविधा विस्तार भएपछि सहज

१ कातिक, म्याग्दी। मुस्ताङ र तिब्बतस्थित कोरला नाकामा नेपाल टेलिकमको बिटिएस टावर स्थापना भएपछि सहज भएको छ ।

सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रूपमा सूचना आदानप्रदान गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

टेलिकमको बिटिएस टावरको सहयोगमा सीमा नाकामा सुरक्षाको अवस्थाबारे बुझ्न, कोरला नाकाको भ्रमणमा पुग्ने पर्यटकसँग जानकारी लिन र दैनिक रुपमा सूचना आदानप्रदान गर्न राहत मिलेको हो ।

यसअघि नाका क्षेत्रमा सञ्चारको सुविधा नहुँदा कोरला नाकामा सुरक्षाको अवस्था पत्ता लगाउन, पर्यटकलाई परेको समस्या र तत्कालै उद्धार तथा समन्वय गर्नका लागि समस्या भैरहेको थियो । तर अहिले टेलिकमको टावर सञ्चालनमा आएपछि सीमा नाकामा सुरक्षाको जानकारी लिन, त्यहाँ पुग्ने पर्यटकलाई लेक लागेमा तत्कालै उद्धार गर्न, नाकाको भ्रमण गर्ने पर्यटकहरुको तथ्याङ्क सङ्कलन गर्नुका साथै आवश्यक समन्वय तथा सहजीकरणमा समेत सहज भएको मुस्ताङका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीले जानकारी दिए।

समुन्द्री सतहदेखि करिब ४७ सय मिटरको उचाइमा रहेको कोरला नाकामा टेलिकमको टुजी र फोरजी टावर सोलारको माध्यमबाट चल्ने गरी जडान गरिएको छ । बिटिएस टावरमा उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवाको क्षमता रहेको हुँदा भोल्ट आधारित प्रविधिको भिडियो कल गर्न र नमस्ते मोबाइलमा वाइफाई चलाएर सजिलै कुराकानी गर्न सकिन्छ ।

नाका क्षेत्रमा नै सञ्चार सुविधाको विस्तार भएकाले खासगरी सूचना तथा जानकारीहरु आदानप्रदानमा सहज भएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।

कोरला नाका क्षेत्रमा नेपाल टेलिकमको टावर सञ्चालनसँगै नाकामा हुन सक्ने अवाञ्छित क्रियाकलापहरु रोक्नका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । कोरला नाकाको नेपालतर्फ गएको असार महिनामा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत एकीकृत भवन निर्माण भैसकेको छ । यसअघि नाकाको सुरक्षा र अनुगमन तथा निरीक्षणको लागि भन्दै नेपाल सरकारले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्