समाचार

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

१ कार्तिक २०८१, बिहीबार २२:०१
अवैध लागूऔषध सहित पाँच जना पक्राउ

१ कातिक,काठमाडौँ। काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम सहित मकवानपुर थाहा नगरपालिका–६ बस्ने २२ वर्षीय सरोज अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७३३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा थाहा नगरपालिका-९ बस्ने २९ वर्षीय भुपेन्द्र बस्नेत उक्त पदार्थ रिसिभ गर्न आउने खुल्न आएपछि उनलाई काठमाडौं चन्द्रागिरि नगरपालिका-१ दह चोकबाट प्रहरीले पक्राउ गरेको छ।

कैलाली धनगढी उपमहानगरपालिका-१५ सुर्मीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय मनिराम राना र २४ वर्षीय हुकुम सिंह राना रहेका छन् । प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

भोजपुर अरूण गाउँपालिका-६ जरायोटारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय १० मिलिग्राम सहित भोजपुर   नगरपालिका-९ बस्ने २५ वर्षीय अमुल राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरीले दमकबाट भोजपुरतर्फ आउँदै गरेको बा.३ ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्