१ कातिक,काठमाडौँ।दशैँको अवसर पारेर फूलपातीको दिन (असोज २४) बाट रिलिज भएको तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् ।
दोस्रो हप्तामा लागेसँगै कुनै चलचित्रको शो संख्या घटेको छ, कुनैको थप गरिएको छ भने कुनै चलचित्र हलबाटै उतार्नु पर्ने अवस्था आएको छ ।पहिलो दिनको शो संख्या हेर्दा ‘छक्का पञ्जा ५’ ले देशभर झन्डै २५० शो पाएको थियो, जसमा क्यूएफएक्स मात्राले १०० भन्दा धेरै शो दिएको थियो । अहिले दोस्रो सातामा, क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरीजस्तै ७१ मा झरेको छ ।
विराज भट्टको फिल्म ‘१२ गाउँ’ को ग्रस कलेक्सन ७ करोडमाथि पुगेको अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा बक्स अफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिएको छैन।
दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले बिहीबारका लागि ‘छक्का पञ्जा ५’ लाई १५ शो दिएको छ भने ‘१२ गाउँ’ ले १२ शो पाएको छ। आईएनआईमा ‘ज्वाइँ साब’ लाई ३ शो दिइएको छ।
बिग मुभिजमा ‘१२ गाउँ’ अगाडि देखिएको छ। यहाँ बिहीबारका लागि ‘छक्का पञ्जा ५’ ले ६ र ‘१२ गाउँ’ ले ७ शो पाएको छ। यहाँ ‘ज्वाइँ साब’ लाई १ शो दिइएको छ।
सुरूमा शो बाँडफाँट गर्दा क्युएफएक्समा ‘१२ गाउँ’ ले भन्दा ‘छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो। दर्शकको साथ पाएपछि ‘१२ गाउँ’ ले विस्तारै शो बढाउँदै लगेको हो।