समाचार

प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण

२४ पुष २०७८, शनिबार ०६:००
प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण

२४ पुस, काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन्। माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए।

“पीसीआर परीक्षण गराउनु र स्वास्थ्य मापदण्ड अपनाउनु भनेर सबैलाई कडाइपूर्वक नै भनिएको छ,” ढकालले भने। कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।

शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ। उनले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको छ। स्वास्थ्य अवस्था सामान्य छ,” उनको सचिवालयले एक विज्ञप्तिमा भनेको छ।

“स्वास्थ्यकर्मीको सल्लाह अनुसार उहाँ केही दिन आइसोलेसनमा रहनु हुनेछ। कोभिड-१९ को कारण उहाँका केही पूर्वनिर्धारित कार्यक्रममा उहाँको सहभागिता हुन नसकेकोमा हामी दुखी छौँ।”

प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि सङ्क्रमण पुष्टि भएको छ। माओवादीका पूर्वउपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्।

“मसँग हालैका दिनहरूमा भौतिक रूपमा नजिकको सम्पर्कमा आएका सबैलाई आवश्यक सतर्कता अपनाउनुहुन म अनुरोध गर्दछु,” श्रेष्ठले भनेका छन्।

पुन ११ गतेदेखि १८ सम्म काठमाण्डूमा चलेको माओवादीको आठौँ महाधिवेशनमा १,७०० बढी प्रतिनिधि सहभागी थिए। महाधिवेशनपछि धेरैलाई एकसाथ सङ्क्रमण देखिएपछि सबै प्रदेश समितिमार्फत सहभागीहरूलाई सतर्कता अपनाउन र परीक्षण गर्न भनिएको ढकालले जानकारी दिए।

“प्रदेशमार्फत सबैलाई पीसीआर परीक्षण गर्ने र आवश्यक सावधानी अपनाउने भनिएको छ,” उनले भने। महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख दलका शीर्ष नेताहरूसमेत सहभागी भएका थिए। पुस १९ गते पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनलाई केही दिनदेखि कोभिढको लक्षण देखिएको एक माओवादी नेताले बताएका छन्। बिबिसी

प्रतिक्रिया दिनुहोस्