समाचार

नेपालमा कोरोनाको तेस्रो लहर सुरु, ओमिक्रोन भेरियन्टको संक्रमण बढे

२४ पुष २०७८, शनिबार ००:५०
नेपालमा कोरोनाको तेस्रो लहर सुरु, ओमिक्रोन भेरियन्टको संक्रमण बढे

काठमाडौं । नेपालमा पछिल्ला केही दिनयता कोभिड १९ को संक्रमण बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । काठमाडौं उपत्यकासहित केही सहरहरूमा सक्रिय संक्रमितको संख्या बढेको छ ।

कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने क्रम बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राले एसजिन नेगेटिभ पत्ता लागेका २४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। मुलुकभरबाट र्‍याण्डम स्याम्पलिङ विधिबाट संकलित पीसीआर तथा एन्टिजेन पोजेटिभ नमुनाहरूको परीक्षण गरिएको हो।

मन्त्रालयको विज्ञप्तिअनुसार र्‍याण्डम स्याम्पलिङ विधिबाट पुस महिनामा कोरोना पोजेटिभ आएका ११४६ नमुना संकलन गरिएको थियो । त्यसको एसजिन स्क्रिनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमुनामा एसजिन नेगेटिभ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमुनामा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ ।

एस जिन बढ्दै गएको छ, मंसिर १९ गते दुई जनामा ओमिक्रोन पुष्टि हुँदा २ हजार ५०० भन्दा बढी परीक्षण गरिएको थियो। त्यो बेला दुई जनाको एस जिन नेगेटिभ आएको थियो, त्यसैलार्ई जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोन पुष्टि भएको थियो। त्यो संख्या अहिले बढेको छ। अहिले १ हजारको परीक्षण गर्दा ५ वटा नमुनामा वटा एस जिन नेगेटिभ केसहरु भेटिरहेका छन् । यसको मतलब नेपालमा ओमिक्रोन बढिसकेको छ।

अर्थात एसजिन नेगेटिभ आएका बाँकी २२६ नमुनामा पनि ओमिक्रोन भेरियन्ट छ । किनकी एसजिन नेगेटिभ आउने अल्फा भेरियन्ट नेपालमा सक्रिय छैन र पछिल्लो दुई महिनामा एसजिन नेगेटिभ आएका सबै २७ वटा नमुनामै ओमिक्रोन भेटिएको छ । यसरी हेर्दा दैनिक पहिचान भएका संक्रमितमध्ये चार भागको एक भागमा ओमिक्रोन भेरियन्ट छ भनेर सहजै अनुमान गर्न सकिन्छ ।

यसले समुदायमा ओमिक्रोन भेरियन्ट पुगिसकेको बुझाउने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘संक्रमण पुष्टि भएको चारभाग मध्ये झण्डै एक भाग संक्रमितमा ओमिक्रोनको संक्रमण देखिएको छ । यो तथ्यांकले समुदायमा संक्रमण फैलिसकेको देखाउँछ ।’

प्रतिक्रिया दिनुहोस्