२३ पुस, एजेन्सी । पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ । महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए । महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ । यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।