समाचार

विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

२३ पुष २०७८, शुक्रबार १६:४९
विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

२३ पुस, एजेन्सी। भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ ।

कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको सङ्क्रमण अत्यधिक बढेको छ ।

विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सवैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागरू गर्नुपरेको हो,” वक्तव्यमा लेखिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका छन् ।

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतमा कोरोनाभाइरसको महामारी सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । भारतमा अहिले तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि मन्न्त्रालयले शुक्रबार जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरूमा एक हजार १९९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ७१ हजार ३६३ रहेको छ । गएको २४ घण्टामा भारतमा ३० हजार ८२६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ७१ हजार ८४५ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९७.५७ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप ३०२ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार १७८ छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्