प्रदेश

खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजुभाइको मृत्यु

१७ आश्विन २०८१, बिहीबार २०:२२
खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजुभाइको मृत्यु

१७ असोज,विराटनगर। मोरङमा क्रसरको खाल्डोमा डुबेर बिहीबार एकै परिवारका नाबालक दाजुभाइको मृत्यु भएको छ।

 केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर २ नाबालकले ज्यान गुमाएका हुन्। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईंको मृत्यु भएको जानकारी दिए।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले दिउँसो ३ः४० बजेतिर सूचना पाएको थियो ।

सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा दुवै जना डुबेको अवस्थामा फेला परेका थिए । मृतक बालक भूपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ । प्रहरीले भने पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्