समाचार

राहत लिएर कोही किन आउँदैनन् ?

१७ आश्विन २०८१, बिहीबार १९:०६
राहत लिएर कोही किन आउँदैनन् ?

१७ असोज,काठमाडौं। ‘तपाईंहरू हामीलाई राहत दिन आउनुभएको हो?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५, फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।

‘होइन नि हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको।’ यो जबाफले एक्कासि अध्याँरो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नि।’ काखमा ६ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो कि भन्ने आशाले बाटो निहालिरहनुभएको रहेछ उनी। तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भनिन्, ‘अरू पनि आउँछन् यसरी नै। सोधेर जान्छन्। तर कोही राहत लिएर आउँदैनन्।’

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ। ‘आफूले खान नपाएर दूध नआएपछि ६ महिने छोरी पनि भोकले रोहिरहन्छिन्,’ माझी भन्छिन्, ‘अर्को पनि बच्चा छ, उसलाई के खुवाउनुरु आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरू मान्दैनन्। रुन्छन्। के गर्नु?’

बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो। न बासको ठेगान छ, न गाँसको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, ‘बाढीले त बचायो, भोगले पो मरिन्छ कि क्या हो।’

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ। अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होलारु भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछन् उनी। ‘अहिले त न बस्ने बास छ, न खानका लागि गाँस छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला। तर मुख्य खानेकुरै भएन,’ उनी भन्छन्, ‘नखाएर कति दिन बिताउन सकिएला ?’

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नि झैँ लाग्छ रे उनलाई। ‘अरू ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नि,’ उनले भने, ‘पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला। बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन्।’ कोठा भाडा तिरेर बस्छु भन्नेहरूका लागि कतै कोठा नभएको उनी सुनाउँछन्। ‘भए पनि एक्कासि महँगो बनाएका छन्,’ उनी भन्छन्।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन्। केही थान भाँडा भेटिएछ। अरू त सबै भेलसँगै बगाएर लगेछ। ‘कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि,’ उनी भन्छिन्, ‘सबै लग्यो बाढीले। धन्न ज्यान त बच्यो।’

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छन्। ‘बाढीबाट ज्यान त जोगियो, खान नपाएर मर्न चाहिँ नपरोस्,’ उनी भन्छिन्, ‘बच्चा छ। भोकाउँछन्, रोइहाल्छन्। के गर्नु।’ आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, ‘पत्रकार अन्टी हाम्रो त घरै बगायो। मेरो किताब, कापी, लुगा सबै बगायो नि।’

फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छन्, गंगा थापा पनि। उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनन्। ‘रातको ३ बजेको थियो, शौचालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ। तीन छोराछोरी र श्रीमान्लाई पनि ब्युँझाए। भागाभाग भयो,’ थापा भन्छिन्, ‘एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नि। धन्न भाग्यले बाँचियो।’
उनको परिवार अहिले छिमेकीसँग मागेर खाइरहेको र डोलेश्वर स्कुलको पेटीमा बास बसिरहेको छ।

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ। ‘हामी भएको ठाउँमा कोही नआउन्। रित्तो हात त कोही पनि नआए नि हुन्थ्यो झैँ लाग्छ। राहत लिएर चाहिँ कोही किन आउँदैनन्,’ उनी भन्छिन्।

इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन्। ‘सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ। जाँदा त खाने कुरा नै सकिएको रहेछ। अनि भोकभोकै फर्किनुपर्‍यो,’ उनले भनिन्, ‘आज यही स्थानीय क्लबले खुवाएको थियो। कत्ति खुसी लाग्यो। खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ।’

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ। शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो। के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ। भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन्।
‘यत्ति धेरै क्षति हुन्छ भन्ने सोचेको पनि थिएनौँ। डुंगाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ,’ उनी भन्छिन्, ‘तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो। धन्न बाँकी रहेछ।’ माथि उल्लेख गरेका पात्रहरुको भन्दा उनको माग फरक छ, ‘सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस्।’

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ। नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पिडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ। ‘कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ,’ उनी भन्छिन्, ‘हाम्रो क्षेत्र पनि ठूलो छ नि छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन।’

उनका अनुसार गोदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ। ‘यहाँ कति क्षति भयो भन्ने कुरा आकलन गरिरहेका छौँ,’ उनले भनिन्, ‘पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न संद्दसंस्थाहरू र समाजसेवीहरूसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ।’

प्रतिक्रिया दिनुहोस्