मुख्य समाचार

बडादशैं शुरु, आज घटस्थापना

१७ आश्विन २०८१, बिहीबार ०९:३८
बडादशैं शुरु, आज घटस्थापना

१७ असोज,काठमाडौँ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ ।

 मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडा दशैं  पर्वको पहिलो दिन बिहीबारमहोत्तरी सहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ । दशैं पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ ।

मिथिला परम्परामा दुई वटा नवरात्र छन् । असोज शुक्लपक्षको प्रतिपदा देखि नवमी सम्मको पर्वलाई शारदीय र चैत शुक्लपक्षको प्रतिपदा देखि नवमी सम्मको पर्वलाई वासन्ती नवरात्र भनिन्छ । देवीपूजन र आराधनामा दुवै नवरात्र समान महत्वका भए पनि शारदीय नवरात्र पहिले देखि नै धुमधामले मनाउने प्रचलन रहेको पाका मैथिल बताउँछन् ।

मिथिलाका देवी शक्तिपीठहरुमा कन्याकुमारीहरुले बिहीबार धार्मिक महत्वका नदी र सरोवर बाट माटाका नयाँ  घडामा भरेर ल्याएको जल देवीको प्रतिमा र मन्दिर परिसरमा अभिषेक गर्दै सोही जल कलश स्थापना गरेर घटस्थापना गरिन्छ । यस प्रयोजनका लागि  एका बिहानै देखि बस्तीबस्तीमा कलश यात्राका कार्यक्रम भइरहेका छन् ।

महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाई स्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१  स्थित राजदेवी स्थानमा घटस्थापनाका लागि कलश यात्रा भएको छ । रातु, मरहा, दुधमती नदी र पुरन्दर, वरुण, भार्गव, लक्ष्मीसागर र ध्रुवकुण्ड सहितका सरोवर बाट नयाँ घडामा जल भर्न बिहानै देखि झाँकी र बाजागाजा सहितको कलशयात्रा भएका छन् । कलशयात्रामा नगरगाउँ बस्तीका आम सर्वसाधारणको सहभागिता छ ।

कलशयात्रामा कन्याकुमारीहरुले भरेका घडाको जल बाट घटस्थापनाको कलश स्थापना गरिन्छ । घटस्थापना गरिए सँगै शक्तिपीठ र देवीका प्रतिमा बनाएर दुर्गापूजा गरिनेस्थलमा जौ, तिल, गहुँ, धान, मकै सहितको जमरा राखिन्छ । बर्दिबासको हटियाचोक, जलेश्वरको महेन्द्रचोक र हाटेचौर, भङ्गाहाको सीतापुरबजार, गौशालाबजार, लोहारपट्टीसहितका जिल्लाका ३० भन्दा बढी ठाउँमा दुर्गा मेलाको आयोजना भएको छ । नवरात्रको प्रारम्भ सँगै जिल्लाका सबै जसो गाउँनगर बस्तीमा देवी दुर्गाका भजन गुञ्जिन लागेका छन् ।

दशहरा पर्व सुरु भए सँगै मिथिलामा मङ्गल धुन गुञ्जिएको छ। बस्तीबस्तीमा देवी भजन भइरहेको छ । दशहराको आगमनले मिथिलावासीमा हर्ष छाएको छ । साथै बजारमा चहलपहल पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्