समाचार

आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना

१६ आश्विन २०८१, बुधबार ०६:५९
आज र भोलि मुलुकका विभिन्न स्थानमा वर्षाको सम्भावना

१६ असोज,काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ।

तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्