मुख्य समाचार

दसैँको मुखमा कष्टकर यात्रा– अहिले घर जान हतार नगरौँ

१५ आश्विन २०८१, मंगलवार १६:५५
दसैँको मुखमा कष्टकर यात्रा– अहिले घर जान हतार नगरौँ

१५ असोज,काठमाडौँ।वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ ।

दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् ।

यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रूपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भए लगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए ।

राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा र चालकको ‘ओभरटेक’ गर्ने पुरानै नराम्रो बानीले सडक खुले पनि जामको समस्या कायमै छ । यद्यपि बिचबिचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ ।

त्यसैले अब यात्रुहरूले यो दसैँमा घर पुग्न ठुलै युद्ध जिते झैँ हुने अवस्था रहेको चितवन जान लागेका यात्रु कृष्ण शर्माले बताउनुभयो । सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू काठमाडौँको नैकापसम्म लाइन थियो । आज पनि ती सवारी साधन राम्ररी अघि बढ्न सकेका छैनन् ।

यस्तै, पूर्व र पश्चिम नेपाल जाने राजमार्ग पनि राम्ररी सञ्चालन हुन सकेका छैनन् । नेपाल  प्रहरीका अनुसार आज पनि २० भन्दा बढी ठाउँमा राजमार्ग अवरोध नै रहेको तथ्याङ्क छ । केही ठाउँमा पहिरो हटाउने र सडक खुलाउने काम पनि जारी छ ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको सङ्ख्या थेगिनसक्नु भएको छ । नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ । बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ–नारायणगढ सडकका दर्जनौँ ठाउँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन । हेर्दा कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ । सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन् ।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैँसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ । यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्