समाचार

नेपालमा २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

२३ पुष २०७८, शुक्रबार १०:३४
नेपालमा २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

२३ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेगेटिभ देखिएकाका २४ नमूनाको जिन स्क्रिनिङ गर्दा सबैमा सङ्क्रमण पुष्टि भएको हो ।

ओमिक्रोन भेरिएन्टको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन समेत दिएको छ । “ओमिक्रोनले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यकपर्ने अक्सिजनलगायत अन्य सामग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राद्वारा आज यहाँ जारी विज्ञप्ति भनिएको छ, “सीमानाकामा कोभिड–१९ को परीक्षणलाई थप सशक्त बनाउने तथा पोजेटिभ आएका केशलाई आइशोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले एस–जिन स्क्रिनिङ गर्न वीर, निजामती कर्मचारी, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण र भेरी अस्पताल र प्रदेश नं २ प्रदेश जनस्वास्थ्य प्रयोगशालामा व्यवस्था गरिएको जनाएको छ ।

ओमिक्रोनका कारण अत्यधिक मात्रामा कोभिड–१९ को सङ्क्रमण बढ्ने सम्भावना रहेको जनाउँदै मन्त्रालयले सबैलाई थप सजगता अपनाउन आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्