नेपाली चलचित्र

राजेश हमाल अभिनीत फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त

१० आश्विन २०८१, बिहीबार १९:५७
राजेश हमाल अभिनीत फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त

काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीबार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

 एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरू राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठलगायतको उपस्थिति थियो । निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भने, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ । राजेश दाइले धेरै स्क्रिप्टहरू नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकि राजेश दाइलाई कन्भिन्स गर्नलाई नै मलाई तीन महिना लागेको थियो,’ उनले भने ।

निर्माता महर्जनले यो फिल्म फरक तरिकाले निर्माण हुने भएकाले आफू यो फिल्मको निर्माणमा जोडिएको बताए । त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफूले सोचेको भन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताए । यो फिल्मका नायक राज कटुवालले आफूले सानै बेलादेखि नै राजेश हमालको पोस्टरहरू कलेक्सन गर्दै आएको र अहिले आएर हमालसँग फिल्ममा खेल्न पाउँदा आफू निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफूलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडिएको बताउँदै भनिन्,‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुसी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भनिन्, ‘मेरो बुवा उनको फ्यान भएको कारण मैले पनि उहाँको फिल्म बच्दैदेखि हेर्दै आएको थिएँ । अहिले उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु ।’

आगामी फागुन १४ गते शिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल , नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतका कलाकारहरूको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो फिल्मको लागि केही समयदेखि आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म क्षेत्र तात्तिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्