प्रदेश

पर्यटकीय राजधानीको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

१० आश्विन २०८१, बिहीबार १९:०१
पर्यटकीय राजधानीको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री पाण्डे

१० असोज, काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् ।

सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको संयोजनमा आज पोखरामा आयोजित पर्यटन विकासका लागि नवीनतम दृष्टिकोण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रुपमा विकास गर्न आफ्ना कार्यक्रम अगाडि ल्याएको जानकारी दिए ।

सीमित स्रोत साधनबीच पनि यहाँका पर्यटकीय गन्तव्यको संरक्षण, विकास र प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले पोखरामा संसारभरिका नागरिकलाई आकर्षित गर्ने थलोका रुपमा विकास गर्ने बताए ।

यहाँ आउने पर्यटकका लागि सडक र हवाई मार्ग सहज बनाउनुका साथै उनीहरु स्वतन्त्र रुपमा घुम्न पाउने वातावरण सरकार र पर्यटन व्यवसायीले  बनाउनु पर्नेमा उनले जोड दिए । विदेशी पर्यटक ट्रेकिङ, प्राकृतिक सुन्दरता, धार्मिक तथा साहसिक खेलका लागि नेपाल आउने गरेकाले प्रकृतिको धनी पोखरालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न प्रदेश सरकारले बढीभन्दा बढी बजेट विनियोजन गरेको मुख्यमन्त्री पाण्डेले बताए ।

भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी नवलपुरको त्रिवेणीदेखि  मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म गौरवको योजनाअन्तर्गत सडक मार्ग निर्माण कार्यलाई अगाडि बढाइएको र गण्डकी प्रदेशबाट सातवटै प्रदेशमा हवाई यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ थियो । त्यसैगरी, पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन गर्न आफैले विभिन्न देशका प्रतिनिधि र एयरलायन्स कम्पनीसँग कुराकानी गरिरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

पर्यटकीय पदमार्ग सडकका कारण लोप हुँदै गएकाले गण्डकी प्रदेश सरकारले कास्कीको माछापुच्छ्रे सर्किटलाई नयाँ  पदमार्गका रुपमा विकास गर्न लागेको जानकारी दिँदै उनले कास्कीबाट मनाङ जान कास्कीका उत्तरपूर्वी गाउँबाट मनाङ जाने पदमार्गको खोजी भइरहेको बताए ।

पर्यटक लक्षित गरी सबैभन्दा उच्च स्थान मनाङमा हाइअल्टिच्यूट खेल मैदानको निर्माण कार्य प्रदेश सरकारका तर्फबाट भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । पोखरालाई योग शिविरका रुपमा विकास गरी विदेशी पर्यटक तान्न सकिने  उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्