समाचार

एकैदिन १५ शिक्षक र विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

२२ पुष २०७८, बिहीबार १४:५६
एकैदिन १५ शिक्षक र विद्यार्थीसहित ४५ जनामा कोरोना पुष्टि

२२ पुस, दाङ । दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् ।

बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति विमल केसीका अनुसार आज २५ महिला र २० पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेमा १३ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४५ मा कोरोना पुष्टि भएको हो । योसँगै तुलसीपुरमा पछिल्लो चार दिनयता ८४ जनामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ओमिक्रोन सङ्क्रमण भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा स्वाब सङ्कलन गरी पठाइएको छ ।

कोरोना देखिएपछि गुरुजजुर माविलाई पुस २७ गतेसम्म बन्दसमेत गरिएको छ । आज दुई वटा विद्यालयका विद्यार्थी तथा शिक्षकमा सङ्क्रमण पुष्टि भएसँगै पाँच वटा विद्यालयमा कोरोनाको सङ्क्रमण देखिएको छ । यसअघि तुलसीपुर–८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता संस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो ।

केसीका अनुसार अस्वारामा तीन सुस्तश्रवण विद्यार्थी, छ अन्य विद्यार्थी तथा पाँच शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती बाल एकेडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको केसीले बताए । “विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ ।

यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” विद्यालयमा नै बढी देखिएकाले केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउनसक्ने उनको भनाइ थियो । उनका अनुसार प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौँलगायतका स्थानमा ‘टुर’ गएका रहेका छन् ।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्रायः भेरोसेल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्