समाचार

सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

६ आश्विन २०८१, आईतवार १८:११
सबै दलको समझदारीमा संविधान संशोधन भए माओवादीले सहयोग गर्छ : नारायणकाजी श्रेष्ठ

६ असोज, काठमाडौं।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनैपनि कोणबाट कुठाराघात नगर्नेगरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए। सबै दलको समझदारीमा हुने संविधान संशोधनमा माओवादीको सहयोग नै रहने उनले बताए ।

उनले प्रतिगमन मुर्दावाद भनेर मात्रै संविधान र लोकतन्त्रको रक्षा नहुने भन्दै रूपान्तरण, विकास र जीवन पद्धतिमा जनताले खोजेको परिवर्तनको पक्षमा काम गर्नुपर्ने धारणा राखे । उनले संविधान संशोधन गर्दा संविधान जारी गर्दाखेरि र अहिलेका अनुभवका आधारमा हुनुपर्ने बताए । उनले सबै सहमत भएको अन्तर्वस्तु तर बुँदाहरू, धाराहरू मिलाउँदा नमिलेको कुराहरूमा अहिले सहमति जुटाउन सकिने बताए ।

उनले संविधानलाई राम्रो र परिष्कृत बनाउन नयाँ अध्याय थप्नेगरी अघि बढ्नुपर्ने बताए । वर्तमान सरकार बन्ने प्रसङ्गसँग संविधान संशोधनको विषय आएकाले केही विवाद आएको बताए ।

उनले समावेशी, समानुपातिक पक्षहरूमा पछि नहट्ने विषयमा सरकार सरकारमा सहभागी राजनीतिक दलहरूले स्पष्ट पारिसकेको भन्दै अब सोहीअनुसार अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्