समाचार

आइतबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जादै

२१ पुष २०७८, बुधबार १५:०८
आइतबार प्रधानमन्त्री देउवा भारत भ्रमणमा जादै

२१ पुस, काठमाडौं । आगामी पुष २५ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणमा जाने प्रतिनिधिमण्डल लगायतका विषयमा परराष्ट्रले मन्त्रिपरिषद्मा लैजाने प्रस्ताव तयार गरिसकेको छ । परराष्ट्रसचिव भरतराज पौड्यालले सरोकारवाला मन्त्रालयका सचिव एवं अधिकारीहरूसँग भ्रमणका एजेन्डाबारे छलफल गरिरहेका छन् ।

नेपाल र भारतको कूटनीतिक च्यानलबीच भइरहेको तयारीअनुसार प्रधानमन्त्री २५ पुसमा नयाँदिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् ।

उनीसहित आधा दर्जन सरकार/राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । छिमेकी मुलुकमध्ये प्रधानमन्त्रीस्तरमा भने मोदीले देउवालाई मात्रै निमन्त्रणा गरेको परराष्ट्रका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्