मुख्य समाचार

संविधान पुनरवलोकन गर्नुपर्छः महामन्त्री थापा

२७ भाद्र २०८१, बिहीबार १८:०१
संविधान पुनरवलोकन गर्नुपर्छः महामन्त्री थापा

२७ भदौ, काठमाडौँ। कांग्रेस महामन्त्री गगनकुमार थापाले संविधान पुनरवलोकन गर्नुपर्ने बताएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा  उनले काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताए।

महामन्त्री थापाले संविधान संशोधनमार्फत् संघीयता, समावेशीता, गणतन्त्र र समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई थप विस्तार गरेर मजबुद बनाउनुपर्ने बताए । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनको भनाइ छ ।

उनले भने, ‘हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौँ। लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप बिस्तार गर्न चाहन्छौँ। तर त्यो बिस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाउँ। कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरु थिए होलान्। कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ कि ? भन्ने हामीले सोचेको भन्दा फरक भए होलान्। हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ अब। यि कतिपय कुरालाई सुधार गर्नुपर्छ। हामी अहिले नेकपा एमालेले नेतृत्व गरेको यो दुई वर्षको पहिलो कार्यकाल त्यसपछि हाम्रो पार्टी सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्ने यि तमाम कुराहरु टुंग्याउन चाहन्छौँ। टुंग्याउँछौँ।’

प्रतिक्रिया दिनुहोस्