समाचार

लगानीकर्तालाई आकर्षित गर्न सार्वभौम ‘क्रेडिट रेटिङ’को काम अगाडि बढेको छ : अर्थमन्त्री पौडेल

२७ भाद्र २०८१, बिहीबार १७:२१
लगानीकर्तालाई आकर्षित गर्न सार्वभौम ‘क्रेडिट रेटिङ’को काम अगाडि बढेको छ : अर्थमन्त्री पौडेल

२७ भदौ, काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधारमा लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर समिट-२०२४ का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

बिहीवार पाँचौँ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्। उनले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताए।

उनले व्यावसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरे। उनले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गरे।

पौडेलले भने,‘पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा बाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको वास्तविक अवस्था विम्वित हुने गरी मुलुकको सार्वभौम क्रेडिट रेटिङको काम अगाडि बढाइएको छ। यसको काम सम्पन्न भए पश्चात् लगानीकर्तालाई मुलुकमा लगानी गर्न थप निश्चितताको वातावरण बन्ने र लगानी आप्रवाह विस्तार भई पूर्वाधार लगानी बढाउन थप योगदान पुग्ने अपेक्षा समेत मैले गरेको छु।’

उनले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोगी हुने गरी पूँजीगत र वित्तीय व्यस्थामा बजेट विनियोजन गरिएको जानकारी गराए । ‘पूर्वाधार क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने गरी मौद्रिक नीतिमा गरिएको व्यवस्था तथा बैक तथा वित्तीय क्षेत्रको नियामकीय प्रावधानहरु पूर्वाधार लगानी बनाउँदै लगिएको छ। यसका लागि आवश्यकता र अनुभवहरुका आधारमा थप प्रबन्ध गर्दै जान सरकार प्रतिवद्ध छ’ उनले भने।

 नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न वर्तमान सरकार प्रतिवद्ध छ। कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ छ। व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था छ।’

अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताए।

प्रतिक्रिया दिनुहोस्