समाचार

मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द

२७ भाद्र २०८१, बिहीबार १७:१३
मोबाइल व्यवसायी आन्दोलितः सामसुङ मोबाइलको भिजिबिलिटी देशभर बन्द

२७ भदौ, काठमाडौँ। नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ।

 व्यवसायी र सामसुङ नेपालबीच केही दिन अगाडी सुदूरपश्चिममा भएको विवादलाई लिएर व्यवसायीहरूले सामसुङ मोबाइल बिक्रीमा रोक लगाएका हुन् । मंगलबार नेपाल मोबाइल व्यवसायी महासंघले भदौ २६ र २७ गते देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने निर्णय गरेको छ । सोही अनुसार व्यवसायीहरूले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाएका छन् ।

‘२६ गते बिहानेदेखि पहिलो दुई दिन (२६ र २७ भाद्र) देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने र त्यस अवधिमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको सरोकारवाला सबैलाई जानकारी गराइन्छ’, महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले सोही विषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। जस अनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी(मोबाइल डिस्प्ले) पसलबाट हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका ब्यवसायीक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भरत भट्टराईले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको विषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रम पछि थप कार्यक्रम घोषणा गरिने बताए ।

धनगढीमा आयोजित रिटेल मीटमा व्यवसायीहरुले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए । तर सामसुङ नेपालका प्रतिनिधिहरुले भने सो विषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरुलाई जुन कार्यक्रमका लागि बोलाइएको त्यो बाहेक अन्य विषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्