समाचार

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारियाे

२५ भाद्र २०८१, मंगलवार १२:२८
नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारियाे

२५ भदौ,काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको पेन्सन अवधि १६ वर्षमा झारिएको छ । दुवै प्रहरी संगठनको ऐनमार्फत जवनाहरूको पेन्सन अवधि १६ वर्ष कायम गरिएको हो ।

 नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायमा विवादित हुँदै आएको सेवा अवधिसम्बन्धी व्यवस्थालाई कानुनमै उल्लेख गर्न लागिएको हो। दुवै संगठनका सेवा र आवश्यक सर्तका प्रावधान समेटेर विधेयक तयार पार्न गृह मन्त्रालय, अर्थ मन्त्रालय र कानुन मन्त्रालयबीच सहमति जुटेको छ।

यो कानुन बनिसकेपछि दुवै प्रहरीका जवान र हवल्दार १६ वर्ष सेवापछि अवकाशमा जान पाउनेछन्। असई, सई र वरिष्ठ सई भने १८ बर्से सेवाअवधिपछि अवकाशमा जान पाउनेछन्। यसरी अवकाशमा जानेहरूले पेन्सनचाहिँ सेवाअवधि २० वर्ष पुगेपछि मात्रै पाउनेछन्। अहिले २० वर्ष सेवाअवधि पूरा गरेपछि अवकाशसँगै पेन्सन पाउने व्यवस्था छ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ऐनको मस्यौदा यतिबेला अर्थ मन्त्रालय पठाएको छ । सो मस्यौदामा प्रहरीको पेन्सन अवधि तोकिएको छ । प्रहरी जवान र हवल्दारको १६ वर्ष जुनियर अफिसरको १८ वर्ष र प्रहरी निरीषकमाथिको २० वर्ष तोकिएको हो ।अहिले यी दुवै विधेयक अर्थमा पठाइको गृह मन्त्रालयले जनाएको छ । ‘प्रस्तावित मस्यौदामा जवान र हवल्दारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्ष र सिनियर अधिकृतलाई २० वर्षमा पेन्सन दिनुपर्ने उल्लेख छ’, स्रोतले भन्यो । एआईजीको पदावधि ४ वर्ष राख्न प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरीमा आईजीपीको उमेरहद ६० वर्ष, एआईजी र डीआईजीको ५९ वर्ष, एसएसपीको ५८ वर्ष, एसपी र डिएसपीको ५७, इन्स्पेक्टरको ५६ र जुनियर प्रहरी कर्मचारीको ५५ बनाउनुपर्ने मस्यौदामा उल्लेख छ । पदावधिले अवकाशमा जाने अवधि चाहिँ आईजीपीको ३ वर्ष, एआईजीको ४ वर्ष, डीआईजीको ५ वर्ष र एसएसपीको ८ वर्ष राख्न प्रस्ताव गरिएको छ ।गृह मन्त्रालयले विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्