समाचार

सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

२४ भाद्र २०८१, सोमबार ११:३३
सुर्खेत उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

२४ भदौ, काठमाडौँ। काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण भएको छ ।

काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ । सुर्खेतका लागि बिहान ७ः४५ मा उडेको विमानमा प्राविधिक समस्याको आएपछि ७ः५४ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको श्री एयरलाइनसका एक कर्मचारीले जानकारी दिएका छन् ।

विमानमा रहेका ५३ जना यात्रुलाई भने अर्को विमानबाट सुर्खेत पठाइएको छ । विमानस्थलबाट उडेको केही मिनेटमा विमानको ‘इण्डिकेटर’मा समस्या देखिएपछि विमानलाई ‘डाइभर्ट’ गरिएको हो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण नभई ‘डाइभर्ट’ भएको हो ।

‘काठमाडौंबाट सुर्खेतका लागि आज विहान उडेको उक्त विमान ३० नटिकल माइल पुगेपछि पुनः विमानस्थलमै फर्काइएको थियो,’ उनले भने,’ह्विल स्टेरिङ लक भएकाले विमान बीचबाटै फर्काइएको हो । अहिले विमानस्थलबाट हुने अन्य उडान नियमित सञ्चालन भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्