समाचार

म्यान्मामा सैनिक हवाई आक्रमणमा परी ११ सर्वसाधारणको मृत्यु

२१ भाद्र २०८१, शुक्रबार १३:३४
म्यान्मामा सैनिक हवाई आक्रमणमा परी ११ सर्वसाधारणको मृत्यु

२१ भदौ, एजेन्सी। म्यान्माको उत्तरी शान राज्यमा भएको सैन्य हवाई आक्रमणमा ११ सर्वसाधारणको मृत्यु र ११ जना घाइते भएको जुन्तासँग लडिरहेको जातीय सशस्त्र समूहका प्रवक्ताले शुक्रबार बताएका छन् ।

“सेनाले शुक्रबार स्थानीय समयानुसार करिब राति एक बजे नम्हकम सहरका दुईवटा क्षेत्रमा बमबारी गर्‍यो”, ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए) का ल्वे याय ऊले भने ।

उनका अनुसार आक्रमणमा ११ जनाको मृत्यु र अन्य ११ जना घाइते भएका छन् । आक्रमणमा स्थानीय राजनीतिक दलको एउटा कार्यालय क्षतिग्रस्त भएको छ । नम्हकम चीनको युनान प्रान्तको सीमाबाट करिब पाँच किलोमिटर टाढा छ । गत वर्ष धेरै साताको लडाइँपछि टिएनएलएका लडाकूहरूले उक्त सहरलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा मानिसहरूले भग्नावशेषबाट घाइेत एक युवकलाई बोकेर लैजाँदै गरेको देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्