प्रविधि

टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

२१ भाद्र २०८१, शुक्रबार १३:१४
टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी

२१ भदौ, काठमाडौ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी गत पुस १७ देखि निमित्तका रूपमा रहँदै आएकी थिइन्। टेलिकमका तत्कालीन एमडी सुनील पौडेल भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएपछि नेपाल टेलिकम नेतृत्वविहीन बनेको थियो।

पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।

पहाडीले टेलिकममा ३१ वर्ष बिताइसकेकी छिन् । उनी ०४९ मा नेपाल टेलिकममा सातौँ तहको इन्जिनियरका रूपमा प्रवेश गरेकी थिइन् । उनले करिब २२ वर्ष मोबाइल सेवाको विस्तार, योजनालगायतमा काम गरेकी थिइन् । पहाडी टेलिकमको नेतृत्वमा पुग्ने दोस्रो महिला बनेकी छिन् । यसअघि कामिनीराज राजभण्डारीले टेलिकमको नेतृत्व सम्हालेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् । पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेअकी छिन् ।

प्रतिक्रिया दिनुहोस्