प्रविधि

टिकटकका प्रतिनिधि काठमाडौंमा, पूर्ण रुपमा हट्दै प्रतिबन्ध

२० भाद्र २०८१, बिहीबार १६:१९
टिकटकका प्रतिनिधि काठमाडौंमा, पूर्ण रुपमा हट्दै प्रतिबन्ध

२० भदौ, काठमाडौ। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन्।

नेपाल सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि सिंगापुरस्थित कार्यालयबाट तीन जनाको टोली काठमाडौं आएको हो। सरकारले भदौ ६ गते टिकटक खोल्ने निर्णय गरेपनि सरकार र टिकटक बिच सहमति हुन नसक्दा टिकटक चल्न सकेको छैन। स्रोतका अनुसार टिकटक र नेपाल सरकारबीच नराम्रा भिडियो फिल्टर गर्ने विषयमा सहमति हुन सकेको थिएन।

बिहीबार टिकटकका प्रतिनिधिहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारका शर्तहरूबारे छलफल गरेका छन्। उनीहरूले सरकारले तोकेका शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै प्रतिबद्धता पत्र उपलब्ध गराउन सकिने बताएका छन्।

नेपाल सरकारले २०८० कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाएको थियो। करिब ९ महिना पछि, ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो।

प्रतिक्रिया दिनुहोस्