समाचार

नेपाली सेनाबाट यसरी बिदा भए प्रधानसेनापति शर्मा

१९ भाद्र २०८१, बुधबार २१:२१
नेपाली सेनाबाट यसरी बिदा भए प्रधानसेनापति शर्मा

१९ भदौ, काठमाडौँ। अवकाशमा जान लागेका प्रधान सेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले बिदाइ गरेको छ।

करिब ४२ वर्ष लामो सैनिक सेवा एवं प्रधान सेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी भदौ २४ गतेबाट अवकाश प्राप्त गर्न लागेका शर्माकाे सम्मानमा आज (भदौ १९ गते) जङ्गी अड्डामा एक कार्यक्रम गरी बिदाइ गरिएको हो।

बिदाइ कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पुर्‍याएको योगदान स्मरणीय रहने बताए। उनले शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको पनि बताए।

नयाँ प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्न लागेका कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई उनले बधाई दिँदै रक्षा मन्त्रालय र नेपाली सेनाबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र नतिजामुखी बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्