समाचार

देउवाले नै ओली सरकार बिचौलियाले बनाएको स्वीकार गरे : वर्षमान

१८ भाद्र २०८१, मंगलवार २०:४२
देउवाले नै ओली सरकार बिचौलियाले बनाएको स्वीकार गरे : वर्षमान

१८ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्वको सरकार बिचौलिया व्यापारीले निर्माण गरेको भन्ने आफूहरुको आरोप पुष्टि भएको बताएका छन्।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुपन्देहीको २३औं जिल्ला सम्मेलनको मंगलबार उद्घाटन गर्दै पुनले आफूहरुले भन्दै आएको विषय कांग्रेस सभापति शेरबहादुर देउवाले स्वीकार गरेको बताए ।

‘हाम्रा अध्यक्ष प्रचण्डले संसदको रोस्ट्रमबाटै बिचौलिया र भ्रष्टाचारी समात्न थालेपछि उनीहरुले हामीलाई सरकारबाट निकाले, कांग्रेस-एमालेलाई मिलाइदिए भन्नुभएको थियो’ पुनले भने, ‘पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले एक व्यापारीको नाम लिएर भनेको सुनियो, उहाँलाई केपी ओलीजीको मात्र मान्छे भन्छन् । उहाँ हामी दुवैको साझा मान्छे हो । उनको वर्तमान सरकार बनाउन निकै ठूलो भूमिका छ भनेर स्वीकार गरेका छन्।’

सरकारले सुशासनको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै नेता पुनले भुटानी शरणार्थी लगायतका ठुला काण्डहरूको छानबिन गरेर दोषीलाई कारबाही गर्न थालेपछि कांग्रेस-एमाले आत्तिएर सरकार ढालेको आरोप लगाए। ‘सरकार किन ढालियो सबैलाई थाहा नै छ, हामीले चाह्यौँ भने सरकार फेर्न सक्छौँ तर हामी सरकार फेर्ने पक्षमा छैनौँ,’ उनले भने, ‘अब हामी संगठन निर्माणमा लाग्छौं।’

पार्टी विभाजनको विषयमा स्पष्टीकरण दिँदै नेता पुनले पार्टीभित्र राजनीतिक र शैद्धान्तिक विषयमा बहस र छलफल हुने गरेको भए पनि बाहिर हल्ला गरे जस्तो फुट्ने अवस्था नरहेको बताए। ‘जीवन्त पार्टीमा वहस छलफल हुन्छ त्यसलाई पार्टी फुट्छ भनेर बुझ्नु भएन,’ उनले भने। आफ्नो फाइदाका लागि विरोधीहरूले माओवादी फुट्न थालेको हल्ला फैलाएको उनको आरोप छ  नेता पुनले छलफल बहस र एकताका आधारमा नेतृत्व चुन्न विद्यार्थी नेताहरूलाई सुझाए।

यस्तै माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनालले जनयुद्धका कारण महिला दलित लगायत पछाडि पारिएको वर्ग क्षेत्र र समुदाय राज्यको मूल प्रवाहमा पुग्न सकेको बताए। वर्तमान संविधान जनयुद्धकै दस्ताबेजीकरण भएको उनको भनाइ छ। उनले विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्न आग्रह गर्दै दैनिक सयौँको संख्यामा बाहिरिने विद्यार्थीलाई रोक्ने मार्गमा अग्रसर हुन सुझाए।

प्रतिक्रिया दिनुहोस्