समाचार

सहकारी ठगीमा रवि लामिछानेसँग प्रहरीले लियो बयान

१८ भाद्र २०८१, मंगलवार २०:३५
सहकारी ठगीमा रवि लामिछानेसँग प्रहरीले लियो बयान

१८ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यसअघि रास्वपा सभापति रवि लामिछानेसहितका आरोपितसँग बयान लिएको प्रहरीले तुरुन्तै थप छानबिन अघि बढाएको हो । लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माको नेतृत्वमा काठमाडौं आएको अनुसन्धान टोलीले भदौ ८ मा रास्वपा सहमहामन्त्रीसमेत रहेका विपिनकुमार आचार्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र पूर्वडीआईजी छविलाल जोशीसँग तथा भदौ १० मा लामिछानेलाई प्रहरी कार्यालयमा बोलाएर ठाडो बयान लिएको हो ।

लामिछानेसँग भदाै ७ गते संसदीय छानबिन विशेष समितिले ९ घण्टाभन्दा धेरै समयसम्म सोधपुछ गरेको थियो । त्यसको अर्को दिन लामिछाने चितवन गएका थिए । त्यही बेला पोखरा प्रहरीको टोली काठमाडौं आएर उनलाई बोलाएको हो । कास्की प्रहरीले गोर्खा मिडिया नेटवर्क, नेचर नेस्ट इन्टरनेसनल र नेचर हर्ब्सको कार्यालयमा छापासमेत मारेको थियो ।

लामिछाने चितवनबाट फर्किएपछि भदौ १० गते प्रहरीले बयान लिएको हो । योसँगै प्रहरीले लिखित काजग पनि गराएको छ । बयानमा लामिछानेले सडक, संसद् र संसदीय समितिमा भनेकै विषय प्रहरीसँग दोहोर्‍याएका छन् ।

लामिछानेसहित आरोपितहरुसँग बयान लिन कास्कीबाट डीएसपी वसन्तकुमार शर्माको कमाण्डमा तीन जनाको छानबिन टोली काठमाडौं आएको थियो । काठमाडौं आएको उक्त प्रहरी टोलीले गोर्खा मिडिया नेटवर्कको कार्यालय, नेचर हब्र्स र नेचर नेस्ट इन्टरनेशनलको कार्यालयमा समेत छापा मारेर खानतलासी गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीमा करिब १८ हजार सात सय सर्वसाधारणको बचत हिनामिना भएको छ । पीडितहरूले गत माघमा रास्वपा सभापतिसमेत रहेका लामिछाने, पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पुनसहितको नामै किटान गरेर जाहेरी दिएका थिए । प्रारम्भिक अनुसन्धानमा गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेकै बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा ५ करोड ५८ लाख ९ हजार २ सय ७३ रुपैयाँ ६ पैसा आएको तथ्य प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्