समाचार

प्रचण्डबारे टिप्पणी गर्दै ओलीले भने- अस्थिर, गैरजिम्मेवार र अलोकतान्त्रिक

१८ भाद्र २०८१, मंगलवार २०:२६
प्रचण्डबारे टिप्पणी गर्दै ओलीले भने- अस्थिर, गैरजिम्मेवार र अलोकतान्त्रिक

१८ भदौ, काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे पार्टी बैठकमा टिप्पणी गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकलाई सम्बाेधन गर्दै ओलीले प्रचण्डले देशमा भाँडभैलाे मच्चाउने प्रयास गरेकाे बताए । त्यसलाई एमालेले सत्ताबाट बाहिरिनुपर्दाकाे पीडा पोखेको निष्कर्ष निकालेको छ ।विगत नाै वर्षदेखि सरकारमा भएको र एक्कासि बाहिरिनुपरेपछि माओवादीमा पीडा छाएकाे र त्यसलाई आक्रोशका रूपमा उत्तेजना पोखेकाे भन्दै अध्यक्ष ओलीले बैठकमा ध्यानाकर्षण गराएका थिए ।

बैठकमा ब्रिफिङ गर्दै ओलीले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको भन्दै सफल हुन नदिने बताए । उनले कांग्रेससँग भएको सातबुँदे सहमतिअनुसार नै निर्धारित समयमै सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

“केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन् । थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने मान्छे, उचाल्ने खेतीपाती गरिरहेका छन् । त्यो सफल हुँदैन ।” आजको बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए । उनले सरकार देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्