समाचार

कर्णालीमा राष्ट्रिय सभाको निर्वाचन : ३ पदका लागि ६ जनाको उम्मेद्वारी

२० पुष २०७८, मंगलवार १५:३१
कर्णालीमा राष्ट्रिय सभाको निर्वाचन : ३ पदका लागि ६ जनाको उम्मेद्वारी

२० पुस, सुर्खेत।राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) र नेकपा (एमाले)ले मनोनयन दर्ता गराएका छन्।

अगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कर्णालीमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । तीन जना सदस्यका लागि हुने निर्वाचनमा मंगलवार ६ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्तारुढ गठबन्धनसँग नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने भएको हो ।

तीन पदका लागि गठबन्धन र एमाले दुवै पक्षबाट गरी ६ जनाको मनोनयन दर्ता भएको हो। गठबन्धनबाट माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), एकीकृत समाजवादीको तर्फबाट उदयबहादुर बोहोरा (सल्यान)ले उम्मेद्वारी दर्ता गराएका हुन्।

यस्तै, एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला)ले राष्ट्रिय सभा सदस्य पदका लागि मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत डा रोजेन्द्रकुमार आचार्यले जानकारी दिए।

यस्तै सत्तारुढ तीन दलीय गठबन्धनका उम्मेदवारको टुङ्गो लगाएको कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्