नेपाली चलचित्र

चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनको ५१ औं दिनमा प्रवेश

१६ भाद्र २०८१, आईतवार १६:१७
चलचित्र ‘घरज्वाइँ’ प्रदर्शनको ५१ औं दिनमा प्रवेश

काठमाडौं । चलचित्र ‘घरज्वाइँ’ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको छ । अनिल बुढा मगरको लेखन तथा निर्देशन रहेको चलचित्रले आज प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गरेको हो ।

 फिल्मले शनिबारबाट देशको दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीनवटा हल, गोंगबुस्थित बिएसआर मुभिज, सामाखुसीमा रहेको क्यूएफएक्स चेनको सिटी स्क्वायर हल र नेपालगन्जस्थित सिने रोयल हलमा ५१ औं दिन पार गरेको हो ।

उपत्यकामा निर्माण टिमले शनिबार कार्यक्रम आयोजना गर्दै ५१ औँ दिनमा केक काटेको छ। कार्यक्रममा फिल्मका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत निर्माण टिम र फिल्म पत्रकार सहभागी थिए। २ करोड लगानीमा बनेको फिल्मले ५१ औं दिनसम्म करिब ६ करोडको व्यापार गरेको निर्माण टिमको दाबी छ।

दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म मगर समुदायको संस्कार र संस्कृतिमा आधारित छ। प्रेम, विवाहपश्चात घरज्वाइँ बस्नुपरेको बाध्यता र त्यसले सम्बन्धमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।

अनिल बुढा मगरको लेखन तथा निर्देशना बनेको फिल्म असार २८ मा प्रदर्शन गरिएको थियो। निर्देशक अनिलसँगै विनोद खतिवडा र सुवास कोइरालाले फिल्मको पटकथा लेखेका छन्। फिल्मका निर्माता जनक घर्तीमगर हुन्।

फिल्ममा शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापामगर, कविता आले मगर, बुद्धि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगरलगायत कलाकारको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्