शिक्षा

कृषि विज्ञानको प्रवेश परीक्षा काठमाडौंमा गर्न लाग्दा विरोध

१५ भाद्र २०८१, शनिबार १९:३८
कृषि विज्ञानको प्रवेश परीक्षा काठमाडौंमा गर्न लाग्दा विरोध

१५ भदौ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले कृषि संकायको प्रवेश परीक्षा काठमाडौंमा पनि सञ्चालन गर्ने तयारी गरेपछि चर्को विरोध भएको छ ।

कृषि संकायले टीकापुर कृषि क्याम्पससँगै काठमाडौंमा समेत प्रवेश परीक्षाको तयारी गरेपछि विरोध हुन थालेको हो । यस क्षेत्रका स्थानीयले सामाजिक सञ्जालमार्फत विरोध व्यक्त गरिरहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयले २०७४ देखि टीकापुरमा कृषि विषयको अध्यापन गराउँदै आएको छ । सेमेस्टर प्रणालीअन्तर्गत हरेक वर्ष १ सय १० विद्यार्थी भर्ना गर्दै आएको छ । सामाजिक सञ्जालमा विश्वविद्यालयले आफ्नै केन्द्रीय क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन गर्न नचाहेको तर काठमाडौं गर्न खोज्नु गलत भएको गुनासो पोखेको छन् ।

यसैगरी उनीहरुले विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र डीनले मनपरी गरिरहेको आरोपसमेत लगाएका छन् । कृषि संकायका डीन विष्णुविलास अधिकारीले भने टीकापुर कृषि क्याम्पससँगै काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एकैदिन एउटै समयमा र एउटै प्रश्नपत्रबाट प्रवेश परीक्षा लिइने बताए ।

प्रतिक्रिया दिनुहोस्