१३ भदौ, दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् ।
शर्माले एमाले नेतृत्व पँक्तिलाई जनयुद्धलाई हिंसा भनेकोमा कडा जवाफ फर्काएकी छिन् । उनले जनयुद्धकै बलामा आजको परिवर्तन आएको भन्दै यसलाई अवमूल्यन नगर्न चेतावनी दिएकी हुन् ।
पार्टीको कार्यक्रममा सहभागी हुन गृहजिल्ला दाङ पुगेकी शर्माले जनयुद्धलाई हिंसा देखे फेरि विद्रोह हुने चेतावनी समेत दिएकी छिन् । मुलुक शान्ति प्रक्रियालाई टुँगो लगाउने दिशामा अघि बढिरहेको अवस्थामा एमालेबाट आएको यस्तो अभिव्यक्ति मान्य नहुने भन्दै कडा रुपमा प्रतिवाद गरिन् ।
“आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्नेगरी पार्टीले छलफल अघि बढाएको छ”, उनले भनिन् । पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रुप बनाउन नहुने उल्लेख गर्दै उहाँले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिइन् ।