प्रवास

बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप

११ भाद्र २०८१, मंगलवार १४:१४
बाइडेन प्रशासनले कन्टेन्ट हटाउन दबाब दिएको मार्क जुकरबर्गको आरोप

एजेन्सी। मेटा मालिक मार्क जुकरबर्गले बाइडेन प्रशासनले उनलाई कोविडसँग सम्बन्धित पोस्टहरू सेन्सर (हटाउन) गर्न दबाब दिएको बताएका छन् ।

मेटा फेसबुक, व्हाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी हो । जुकरबर्गले अमेरिकी सदनको न्यायिक समितिलाई पत्र लेख्दै यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘२०२१ मा महिनौंसम्म, व्हाइट हाउसका वरिष्ठ अधिकारीहरूले हामीलाई कोभिड-१९ सम्बन्धित सामग्री सेन्सर गर्न बारम्बार दबाब दिए। यसमा व्यंग्य र व्यंग्यसँग सम्बन्धित सामग्री पनि समावेश थियो। जब हामी यसमा सहमत भएनौं, हाम्रो टीमप्रति निराशा व्यक्त गरियो।’

उनले सामग्री हटाउने वा नहटाउने हाम्रो निर्णय भएको बताए । आफ्ना निर्णयहरूको लागि जिम्मेवार रहेको बताउदै जुकरबर्गले पत्रमा भनेका छन्, ‘सरकारले सिर्जना गरेको दबाब गलत थियो भन्ने मलाई विश्वास छ र हामी यस विषयमा बढी मुखर नभएकोमा मलाई खेद छ । मलाई लाग्छ कि हामीले कुनै पनि प्रशासनको दबाबमा आएर हाम्रा सामग्रीको मापदण्ड परिवर्तन गर्नु हुँदैन ।’

यस्तै फेसबुक र ट्विटर भनिने सामाजिक सञ्जाल एक्सबीचको दुस्मनीपूर्ण सम्बन्धको पटाक्षेप पछिल्लोपटक टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डुरोवको पक्राउ प्रकरणपछि खुलेको छ ।

अमेरिकी कार निर्माता कम्पनी टेस्लाका प्रमुख एलन मस्क सामाजिक सञ्जाल एक्सका पनि मालिक हुन् । सामाजिक सञ्जाल एक्समा ५५६ मिलियन सक्रिय प्रयोगकर्ता छन् । फेसबुकमा ३.०६५ बिलियन र इन्स्टाग्राममा २.४ बिलियन प्रयोगकर्ता छन् । त्यसैले यी सामाजिक सञ्जाल सबैभन्दा शक्तिशाली मानिन्छन् ।

फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल एकअर्काबीच प्रतिस्पर्धी सञ्जाल पनि हुन् । त्यसैले टेलिग्रामका सीईओ पक्राउ परेलगत्तै एक्सका मालिक एलन मस्कले मेटाका सीईओ मार्क जुकरबर्गले समेत इन्स्टाग्राममा बाल शोषणलाई बढावा दिएको आरोपमा पक्राउ गर्नुपर्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्