राजनीति

मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

११ भाद्र २०८१, मंगलवार १२:१६
मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाउने रास्वपाको निर्णय

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ ।

केन्द्रीय कार्यालय च:मतिमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि रास्वपाले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरी यो निर्णयमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन गर्न भनेको थियो।

साथै रास्वपाले दुई पटकसम्म ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकालले पनि सभापति रवि लामिछानेमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण पत्र बुझाएका थिए।पार्टीहित विपरीत समीक्षा प्रतिवेदन बनाएको, सभापति रवि लामिछानेसहित अन्य नेतामाथि विभिन्न आरोप लगाएको भन्दै रास्वपाले उनलाई दुईपटक स्पष्टीकरण सोधेको थियो।

उनले कारबाहीस्वरुप पहिलोचरणमा पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाइएको थियो। उनलाई कारबाही गर्न पार्टीको अनुशासन समितिले केन्द्रीय समितिमा सिफारिस गरेको थियो।

उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो। तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याललगायत पदाधिकारी तथा केन्द्रीय नेताविरुद्ध अभिव्यक्ति दिइरहेका थिए।

यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो। अन्तिमपटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले स्पष्टीकरण सोधेको थियो। जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्