प्रविधि

आजदेखि नाडा अटो शो–२०२४

११ भाद्र २०८१, मंगलवार ११:०३
आजदेखि नाडा अटो शो–२०२४

११ भदौ, काठमाडौं । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा आजदेखि नाडा अटो शो २०२४ आयोजना हुँदैछ ।

उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रलाई सरकारको पूर्ण संरक्षण रहने प्रतिबद्धता जनाउँदै व्यवसायीहरूलाई आश्वासन दिए। अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रले राजस्व र रोजगारीमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै भने, ‘सरकारले व्यवसायीलाई सहयोग गर्छ, तर अवैध गतिविधिहरूमा लाग्न हुँदैन। नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिन्छ र यो सरकारले स्थिरता कायम गर्नेछ।’

उनले व्यवसायीहरूलाई भाषणभन्दा काम गर्न उत्प्रेरित गर्दै अटोमोबाइल क्षेत्रलाई उद्योगसँग जोड्ने नीतिगत समर्थन गर्ने वचन पनि दिए। पौडेलले विद्युतीय सवारीसाधन (ईभी) लगायत सम्पूर्ण अटोमोबाइल क्षेत्रमा नतिजामा आधारित नीति निर्माण गरिने र सडक पूर्वाधारमा समयमै गुणस्तरीय काम गरिने पनि बताए। उनले निर्माण क्षेत्रको समस्या र अटो क्षेत्रमा देखिएका अन्य चुनौतीहरूको सामना गर्न सरकार दृढ रहेको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अटोमोबाइल क्षेत्रलाई विलासी वस्तुको रूपमा परिभाषा नगर्न आग्रह गरे। उनले भने, ‘यो आवश्यक वस्तु हो। यस आधारमा नीति निर्माण गरिएमा राजस्व र रोजगारीमा थप योगदान पुग्छ।’ ढकालले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न पूर्वाधारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भदौ १६ गते आइतवारसम्म आयोजना हुने यो देशकै विशाल अटो शोको आयोजना नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गरेको हो । दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा–ईभी नाडा अटो शो २०२४ आयोजना गर्न लागेको हो ।

यस वर्ष नाडाले विद्युतीय सवारीसाधनमा जोड दिएको छ। पछिल्लो समय विद्युतीय सवारी साधन माग बढ्दो छ।  नाडा अटो सोमा झन्डै दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारीसाधन बिक्री गरिरहेका ब्रान्डसमेतको गर्दा झन्डै २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो सोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्