समाचार

महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक

११ भाद्र २०८१, मंगलवार ०८:२५
महामन्त्रीद्वयको प्रस्तावले कांग्रेसमा हलचल, सभापति देउवाले बोलाए बैठक

११ भदौ, काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् ।

पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन्। बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएको छ।

पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा चर्चामा रहेको छ। पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेको बुझिएको छ।

कांग्रेसले भदौ १२ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको एक पटक राष्ट्रपति‚ २ पटक प्रधानमन्त्री‚ ३ पटक मन्त्री र ४ पटक सांसदको प्रस्तावलाई संस्थापन पक्ष र इतर समूहका नेताहरूले पनि रुचाएका छैनन् । यस्तै अर्का महामन्त्री गगनकुमार थापाले कांग्रेसले रूखमा भोट हाल्न पाउने ग्यारेन्टी सहितको प्रस्तावमा पनि संस्थापन पक्षले आपत्ति जनाएका छन् ।

यी दुई विषयमा विवाद हुँदा साउन साउन २३ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक साउन २८ देखि भदौ ७ गतेसम्म बैठक स्थगन भएको थियो । भदौ ७ मा बसेको बैठकमा पनि सहमति नजुटेपछि १२ गते सम्मका लागि बैठक स्थगन गरिएको थियो । बैठक बस्नु अगावै सहमतिको प्रयासमा सभापति देउवा जुटेका हुन् ।

कांग्रेसले केही समय अघि ललितपुरको गोदावरीमा आयोजना गरेको महासमिति बैठकको प्रस्ताव पास गराउन अहिले केन्द्रीय समिति बैठक बोलाएको हो । तर‚ विवादका कारण महासमितिमा प्रस्तुत प्रतिवेदनहरू पारित हुन सकेका छैनन् ।

महाससमितिमा उपसभापति खड्काले नीति प्रस्ताव‚ महामन्त्री थापाले सांगठनिक प्रस्ताव, महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यी प्रतिवेदनहरू पास भएका छैनन् । महासमितिमा पनि एक्जीट पोलीसी र चुनाव अघिको गठबन्धनमा विवाद हुँदा केन्द्रीय समितिले प्रतिवेदन पारित गर्नेगरी बैठक समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्