राजनीति

रविलाई मुकुलको जवाफ– तपाईंजस्तो ठग र भ्रष्टको पञ्जाबाट पार्टी जोगाउन गरिएको लडाइ हो

७ भाद्र २०८१, शुक्रबार ११:३८
रविलाई मुकुलको जवाफ– तपाईंजस्तो ठग र भ्रष्टको पञ्जाबाट पार्टी जोगाउन गरिएको लडाइ हो

७ भदौ, काठमाडौं।दोस्रोपटक पार्टीले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्ने बताएका छन्।

यसअघि पार्टीको महामन्त्री र केन्द्रीय सदस्यबाट निकालिएका ढकाललाई पार्टीले साधारण सदस्यबाट पनि किन नहटाउने भनेर सोधेको अन्तिम स्पष्टीकरणको जवाफमा शुक्रबार उनले रविलाई भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्ने चुनौती दिएका हुन् ।

उनले आफूले पार्टी हितविपरीत कार्य नगरेको बरु रास्वपा जोगाउन लागिपरेको दाबी गरेका छन् । आफूले पार्टीको विधान र आचारसंहिताविपरीत कुनै कार्य नगरेको दाबी गर्दै ढकालले बरु रविले नै सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्टाचार गरेको र राहदानी दुरुपयोग गरेको दाबी गरेका छन् । ‘मैले प.सं. ०८१/८२ च.नं. ०५७ मिति २०८१/०५/०५ को पत्रमा भनिएअनुसार पार्टीको विधान र आचारसंहिताविपरीत कार्य गरेको छैन ।

पार्टीलाई पठाएको जवाफ सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’

प्रतिक्रिया दिनुहोस्