राजनीति

शिक्षकले राजनीति गर्नुपर्छ भनेर प्रधानमन्त्री ओलीले भन्दा त्रिविमा यस्ताे घटना भयाे: सुमना

६ भाद्र २०८१, बिहीबार १६:००
शिक्षकले राजनीति गर्नुपर्छ भनेर प्रधानमन्त्री ओलीले भन्दा त्रिविमा यस्ताे घटना भयाे: सुमना

६ भदौ,काठमाडौँ।  पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी रास्वपाकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुखको नियुक्तिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच झगडा देखिनुमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीकै कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन्।

पूर्वमन्त्री श्रेष्ठले भनिन्, ‘शिक्षालयमा दल चाहिन्छ, शिक्षक, प्राध्यापकले राजनीति गर्नुपर्छ भनेर सेनापतिका रूपमा सबैतिर बोल्दै हिँड्ने को हुनुहुन्छ? अहिलेका प्रधानमन्त्री। जरोमा पनि उही। टुप्पोमा पनि उही।’ प्रधानमन्त्री ओलीले गत साता एक सार्वजनिक कार्यक्रममा राजनीतिमा लागेका शिक्षकका पक्षमा मन्तव्य दिएका थिए।

श्रेष्ठले शिक्षालयमा हुने राजनीति घटनामा प्रधानमन्त्री, शिक्षामन्त्री, कुलपतिको कार्यक्षमता र नियतको प्रश्न उठाएको बताइन्। उनले भनिन्, ‘विवाद भएका विश्वविद्यालयका कुलपति को? प्रधानमन्त्री। एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने। ती मन्त्रीहरूको कप्तान प्रधानमन्त्री, दुईवटा ठूला दलको भ्रातृ संगठन, प्राध्यापक संगठन, त्यो हाँक्ने कप्तान को? प्रधानमन्त्री।’

श्रेष्ठले उक्त विषयमा प्रधानमन्त्रीको कार्यक्षमता नभएको बताउँदै सरकार, प्रधानमन्त्री र कुलपतिको ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ? यो प्रश्नमा सरकार, कुलपतिज्यू, प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएँ।’

उनले सरकार र राजनीतिक दलको संरक्षणमा रहेका विद्यार्थी संगठनकै नेताबाट शिक्षक र प्राध्यापक असुरक्षित भएको बताइन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल, रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजाल ‘सुरक्षा थ्रेट’ भएको भन्दै बिदामा बसेका थिए। शिक्षामन्त्री विद्या भट्टराईले सोमम्बन्धी बुधबार सामाजिक सञ्जालमार्फत त्रिविमा सुरक्षा माग गरेपछि बिहीबारको संसद् बैठकमा सुमनाले सरकार र राजनीतिक दलको संरक्षणमा रहेकाबाट शिक्षक र प्राध्यापक असुरक्षित रहेको बताएकी हुन्।

प्रतिक्रिया दिनुहोस्