प्रवास

अहिलेसम्म छ लाख तीन हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

६ भाद्र २०८१, बिहीबार १५:५४
अहिलेसम्म छ लाख तीन हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

६ भदौ,काठमाडौँ। रुस–युक्रेन युद्धमा ६ लाख भन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको युक्रेनले दाबी गरेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ ।

पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट मस्कोमा आक्रमण गरेको कतारको सञ्चारमाध्यम अल जजीराले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले आक्रमणका क्रममा ११ वटा ड्रोन खसालेको र त्यसमध्ये एउटा युक्रेनले प्रहार गरेकोमध्ये अहिलेसम्मकै ठूलो रहेको जनाएको छ । मस्कोलाई लक्षित गरेर प्रहार गरेका केही रकेट र ड्रोनलाई ३८ किलोमिटर परको पोडोल्स्क शहरमा खसालेको रुसले जनाएको छ ।

‘यो ड्रोनको प्रयोग गरेर मस्कोमाथि आक्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रयास हो’, मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राम मेसेजिङ एपमा भन्नुभएको छ । ड्रोन आक्रमणबाट कुनै क्षति वा मानवीय हताहत भएको छैन ।

युक्रेनले कहिलेकाँही रुसमा आक्रमण गरे पनि मस्को लक्षित आक्रमण निकै दुर्लभ मानिन्छ । मस्कोमा भएको आक्रमणपछि भ्नुकोभो, डोमोडेडोभो र जुकोवस्की विमानस्थलमा रातभर अस्थायी प्रतिबन्ध लगाइएको थियो तर तीन वटै विमानस्थल अहिले सामान्य अवस्थामा सञ्चालनमा आएका छन् । रुसले यो आक्रमणको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्