प्रविधि

बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै

५ भाद्र २०८१, बुधबार १४:१५
बालबालिकाका लागि राष्ट्रिय स्तरको कोडिङ कम्पिटिसन हुँदै

५ भदौ,काठमाडौँ।डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘डिस्कवरी एजुकेशन, एडुटेक कोडिङ प्रतियोगिता २०२४’ हुने भएकाे छ।

नेपाली बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसनको ट्रेनिङ पार्टनरमा आईटी ट्रेनिङ प्रोभाइडर दूरशिक्षा रहेको छ । कक्षा २ देखि ९ सम्म (उमेर ७ देखि १४ वर्ष)का विद्यार्थीहरूलाई लक्षित गर्दै कोडिङ कम्पिटिसन आयोजना हुने दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण पाण्डेले जानकारी दिए ।

नेपालमा यो कार्यक्रमलाई सफल पार्न एनपीसर्ट, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन, रोर्टरी क्लब अफ याला, वनकभर प्रालि, आईसीटी फ्रेम डटकम, टेक एन्टरप्रेनियर्स एसोसिएसन नेपाल, टेक ब्लगर्स लगायतका संस्थाले सहयोग गर्नेछन् ।

कम्पिटिसनमा सहभागी हुन इच्छुक विद्यार्थी वा समूहले अनलाइनमार्फत एउटा थिम (विषय) मा आधारित रही परियोजना प्रस्ताव गर्नुपर्छ ।  यसपछि दूरशिक्षाका प्रशिक्षकहरूले डिसकभरी एजुकेसन कोडिङप्लेटफर्ममार्फत कसरी परियोजना बनाउने भनेर वेबिनारमार्फत नि:शुल्क सिकाउनेछन्। योसँगै विद्यार्थीले आफ्नो थिममा आधारित रही परियोजना अनलाइनबाट पठाउनुपर्ने छ । 

अनलाइनमा प्राप्त परियोजनामध्येबाट आयोजकले उत्कृष्ट परियोजनाहरूबीच प्रतिस्पर्धा गर्न भौतिक कार्यक्रम गर्नेछ। त्यहाँ मेन्टरको गाइड अनुसार काम गर्नुपर्छ भने अन्त्यमा प्रतिस्पर्धी कोडरहरूले आफैंले एउटा थिममा आधारित भएर परियोजना तयार पारी पठाउनुपर्छ।

यसरी परियोजना तयार पार्ने विद्यार्थीले डिस्कभरी एजुकेसन नेटवर्कमार्फत सहभागिताको सर्टिफिकेट पाउनुका साथै एक वर्षको सब्स्क्रिप्सन नि:शुल्क पाउनेछन्। साथै, नेपाल विजेताले ट्याबलेट, ५० हजार रुपैयाँ सहित ग्लोबल एक्सपोजर पाउनेछन् भने दोस्रो हुनेले २५ हजार रुपैयाँ र अन्य उपहारहरू प्राप्त गर्नेछन् ।

आयोजकका अनुसार नेपाल विजेताले भारतीय विद्यार्थीहरूसँग कोडिङ प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त प्रतिस्पर्धामा समेत जीत हासिल गर्न सके बेलायतको डिस्कभरी एजुकेसनको विश्वस्तरीय प्रतिस्पर्धामा छनोट हुने अवसर मिल्नेछ।

विद्यार्थीहरूले यो लिंकमा गएर रजिष्ट्रेशन गर्न सक्‍नेछन् ।

प्रतिक्रिया दिनुहोस्