प्रविधि

टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी

४ भाद्र २०८१, मंगलवार १३:०४
टिकटक माथिको प्रतिबन्ध हटाउने तयारी

४ भदौ, काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालिन सरकारले प्रतिबन्ध लगाएको १० महिनापछि हटाउने तयारी थालिएको हो । सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएर नै मन्त्री गुरुङले उक्त प्रस्ताव क्याविनेटमा लान लागेको बताइएको छ ।

टिकटकले यसअघि पनि सरकारलाई पत्र लेख्दै नेपालका कानुनहरु पालना गर्न प्रतिबद्धता जनाएको थियो । यद्यपि, पछिल्लो पत्राचारसँगै सरकार सकारात्मक बनेको हो ।

स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिबन्ध फुकुवाका लागि टिप्पणी उठाउन कर्मचारीलाई निर्देशन दिइसकेका छन् । बताइएअनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट टिकटक खुला गर्ने निर्णय हुनेछ ।

पछिल्लो समय दुई छिमेकी चीन र भारतबिच सम्बन्ध सुधारको काममा लागेको वर्तमान सरकारले टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्नुका पछाडि भू–राजनीतिक प्रभाव समेत रहेको विश्लेषकहरूको दाबी छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०८० असोज ५ गते अमेरिका हुँदै चीन भ्रमणबाट फर्किए लगत्तै १३ असोजको मन्त्रीपरिषद् बैठकबाट टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएपछि तत्कालीन सरकारले पश्चिमाहरूको प्रभावमा परेर चीनविरोधी निर्णय गरेको भन्दै चीनले असन्तुष्टि व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्