समाचार

हिमपातमा जंगलमै फसेका बाबुछोरा हिँडेरै बस्ती फर्किए

२० पुष २०७८, मंगलवार ०३:४५
हिमपातमा जंगलमै फसेका बाबुछोरा हिँडेरै बस्ती फर्किए

२० पुस, ताप्लेजुङ । हिमपातका कारण पुस १४ गतेदेखि जंगलमै फसेका मिक्वाखोला गाउँपालिका–५ पापुङका लाक्पाटासी र उनका छोरा पासाङ शेर्पा हिँडेरै बस्ती फर्किएका छन् ।

हिउँ पहिरोले चौंरी, याक बगाएको र आफूहरु ओडारमा बसेको बताएका उनीहरुले हेलिकोप्टरबाट उद्धार गरिदिन टेलिफोनबाट आग्रह गरेका थिए ।उनीहरुको आग्रहपछि वडाध्यक्ष डण्डु शेर्पाले अल्टिच्युट एयरको हेलिकोप्टर भाडामा लिइ शनिबार र आइतबार खोजेका थिए ।

दुवै दिन नभेटिएपछि उनीहरुको खोजीका लागी गाउँका तीन जना युवालाई हेलिकोप्टरले गोठ भएको क्षेत्रमा छोडेको छ । उनीहरु भने फर्किएका छैनन् ।

खाद्यान्न, कपडा बोकेर गएको र मौसम पनि राम्रै भएकाले फर्केर आउने अपेक्षा गरिएको वडाध्यक्ष शेर्पाले बताए । टेलिफोन सम्पर्क भने उनीहरुसँग पनि हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्