प्रदेश

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

४ भाद्र २०८१, मंगलवार ०७:५७
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

४ भदौ,दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गरेका छन्।

मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो । उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

 दिउँसो १ बजेको लागि बैठक आह्वान गरिएको छ । नेपाली कांग्रेसका २७ र नेकपा एमालेका २९ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दुई ठूला राजनीतिक दल विचको समीकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले ह्वीप जारी गरेका छन् । एमालेले विश्वासको मत दिन सांसदहरूलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्