समाचार

प्रचण्ड अध्यक्षमा सर्वसम्मत चयन, १४ पदाधिकारी छान्ने मिति सार्यो

१९ पुष २०७८, सोमबार १५:५०
प्रचण्ड अध्यक्षमा सर्वसम्मत चयन, १४ पदाधिकारी छान्ने मिति सार्यो

१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरेपनि १४ पदाधिकारीको टुंगो लागेन ।

सहमति बन्न नसकेपछि पदाधिकारीमा नाम घोषणा भएन । प्रवक्ता कृष्णबहादुर महराले २५ पुसमा बैठक बसी बाँकी पदाधिकारीको टुंगो लगाउने बताए ।

माओवादीमा महासचिवका आकांक्षी धेरै भएपछि पदाधिकारीमा कुरा नमिलेको हो । अध्यक्ष प्रचण्डले सहमतिको प्रयासका लागि समय सारेको बुझिएको छ ।

१८ पुसमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दसत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेका हुन् । माओवादीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्यीय हुनेछ ।

माओवादीमा वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको नाम चयन हुने निश्चित जस्तै छ । उपाध्यक्षहरुमा वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादव, लिलामणि पाखरेल, ओनसरी घर्ती, देव गुरुङमध्येबाट चयन गर्ने तयारी भएपनि महासचिवमा यीमध्येबाट दाबी देखिएको छ ।

महासचिवमा वर्षमान पुन जर्नादन शर्मा र पम्फा भुसाल अकांक्षी देखिएपनि प्रचण्डले आफ्ना विश्वासपात्रलाई बनाउन खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्