समाचार

म्याग्दी चिनाउन फोटो प्रतियोगिता हुने

३ भाद्र २०८१, सोमबार ०७:४९
म्याग्दी चिनाउन फोटो प्रतियोगिता हुने

३ भदौ, म्याग्दी। म्याग्दीका पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले एक लाख धनराशीको फाटो प्रतियोगिता हुने भएको छ ।

मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ १५ गतेदेखि असोज १५ गतेसम्म डिस्कभर म्याग्दी खुल्ला फोटो प्रतियोगिताको आयोजना गरिएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको विजेतालाई ट्रफी र प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने मोना अस्ट्रेलियाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिए। अस्ट्रेलिया र बेनीमा शनिबार बिहान एकैपटक पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो।

म्याग्दी जिल्लाका धार्मिक, पर्यटन, प्रकृति, कला, संस्कृतिसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने उद्देश्यले तस्बिर प्रतियोगिता आयोजना गरिएको मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगरले बताए।

‘गत वर्षको प्रतियोगिताबाट म्याग्दीका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनका लागि सहयोग पुगेकाले यस पुरस्कारको राशि बढाएर निरन्तरता दिएका छौं,’ उनले भने ‘प्रतियोगिताका क्रममा प्राप्त हुने तस्बिरहरूलाई डिस्कभर म्याग्दी वेब साइटमा राखेर प्रचार–प्रसार गर्ने तयारी गरेका छौं।

प्रतिक्रिया दिनुहोस्