समाचार

पहिरो गएपछि गुल्मीको तम्घास-वामीटक्सार सडक अबरुद्ध

२ भाद्र २०८१, आईतवार ०९:३८
पहिरो गएपछि गुल्मीको तम्घास-वामीटक्सार सडक अबरुद्ध

२ भदौ, काठमाडौं। गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका गाडी बीचबाटोमै अलपत्र परेका छन् । सडक खुलाउन पालिका र प्रशासनले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

दुमैमा बाढीले एउटा घर बगायो

वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रा मरेका छन् । हावाहुरीसहित आएको पानीले मकैवालीमा समेत क्षती पुर्‍याएको छ ।

वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरोको जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्