समाचार

आज ६ संसदीय समितिका बैठक बस्ने

३२ श्रावण २०८१, शुक्रबार ०९:४५
आज ६ संसदीय समितिका बैठक बस्ने

३२ साउन, काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत ५ र राष्ट्रिय सभाको एक गरी ६ समितिको बैठक आज बस्दैछ। अर्थ समितिको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने कार्यक्रम छ।

बिहान ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारबाहीका सम्बन्धमा छलफल, वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रक्रिया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवेदन उपर छलफल, श्रमसँग सम्बन्धित कानून समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल, हवाई टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा इपीएसमार्फत दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालिकाको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ। यी चारै समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०/०८१ र बजेट वक्तव्य २०८०/०८१ मा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयन अवस्था र उपलब्धिहरूका सम्बन्धमा मन्त्रालयसँग छलफल हुनेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्